बर्षेनी हजारौँ नेपाली विद्यार्थीलाई स्टेशनरी तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण गर्ने लक्ष्यसहित काम गरिरहेको चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले गोरखाको सिँजाली माविका विद्यार्थीहरुलाई सो सामग्री वितरण गरेको छ । साझेदारी संस्था ग्लोवल कोअपरेशन फर डेभलपमेण्टको व्यवस्थापनमा सो फाउण्डेशनले सहिद लखन गाउँपालिकाका ५ स्थित सो विद्यालयका दुईसय जना विद्यार्थीलाई सामग्री प्रदान गरेको हो ।
ग्लोवल कोअपरेशन फर डेभलपमेण्टका प्रमुख मुक्ति मरासिनीले गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगरलाई सो सामग्री हस्तान्तरण गरेका थिए । थापाले सो सामग्री विद्यालयलाई हस्तान्तरण गरेका प्रधानाध्यापक बलनारायण श्रेष्ठले जानकारी दिए ।
संस्थाबाट प्राप्त स्टेशनरी र व्यक्तिगत सरसफाइका २१ थरीका सामग्रीले भरिएको झोला मंगलबार विद्यार्थीलाई वितरण गरेको प्रअ श्रेष्ठले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष थापा, दातृ संस्थाका प्रमुख मरासिनी, प्रअ श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।
चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशन नामक चिनियाँ दातृ संस्थाले यसबर्ष साझेदारी संस्था ग्लोवल कोअपरेशन फर डेभलपमेण्टमार्फत विभिन्न जिल्लाका १० हजार जना विद्यार्थीलाई सो सामग्री प्रदान गर्ने लक्ष्य राखेको मसासिनीले बताए । हालसम्म सातहजार भन्दा धेरै विद्यार्थीलाई सामग्री हस्तान्तरण गरिसकिएको उनले जानकारी दिए । सोलुखुम्बु, पर्वत, चितवन, गोरखा, लम्जुङ, बाग्लुङ, म्याग्दी, ललितपुर, काठमाडौँका विद्यार्थीलाई सहयोग सामग्री प्रदान गर्ने लक्ष्य रहेकामा बाग्लुङ र म्याग्दीबाहेक सबै जिल्लामा वितरण गरिएको उनले बताए । काठमाडौँ र ललितपुरमा पनि केही बाँकी रहेका छन् ।
आउँदो असारसम्म लक्ष्य अनुसार सबैलाई वितरण गरिसक्ने उनले जनाए ।
चाइना फाउण्डेशन फर पोभर्टी इलिभेशनले सन् २०१५ देखि नेपालका सामुदायिक विद्यालयका विद्यार्थीलाई आवश्यक पर्ने स्टेशनरी तथा व्यक्तिगत सरसफाइसम्बन्धी २१ किसिमका सामग्री प्रदान गर्दै आएको मरासिनीले जानकारी दिए ।