काठमाडौं उपत्यकाका सरकारी विद्यालयमा पढ्ने विद्यार्थीका लागि पोषणयुक्त खाना र खाजा कार्यक्रम सुरु भएको छ।
बालविकासदेखि ५ कक्षासम्मका १४८ जना विद्यार्थीलाई बिहीबार उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले खाना खुवाएर कार्यक्रम सुरु गरेकी हुन्।
ललितपुरमा रहेको रुद्रायणी माध्यमिक विद्यालयबाट खाजा र खाना दिने कार्यक्रम सुरु भएको हो। काठमाडौं उपत्यकाका ७ विद्यालयमा गरी १२ सयलाई खुवाउने कार्यक्रम रहेको आयोजक संस्था ‘ग्लोबल कोअपरेसन फर डेभलपमेन्ट’ सहयोग कार्यक्रमका अध्यक्ष मुक्ति मरासिनीले जानकारी दिए।
१ देखि ५ सम्म पढ्ने १० वर्षसम्मका बालबालिकालाई खाना र खाजा खुवाइने उनले बताए।
चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभेसनको सहयोगमा थालिएको कार्यक्रममा संस्थाले प्रतिव्यक्ति ५० रुपैयाँ उपलब्ध गराउनेछ। नेपाल सरकारले १५ रुपैयाँ दिने सहमति छ।
चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभेसनका नेपाल प्रमुख जोउ चिर्छ्याङ पनि खाना खुवाउने कार्यक्रममा सहभागी थिए।
‘स्वस्थ बालबालिकाले मात्र गुणस्तर शिक्षा लिन सक्छन्, कार्यक्रममा मन्त्री भुसालले भनिन्, ‘बालबालिकालाई व्यक्तिगत, सामाजिक र राष्ट्र विकासमा योगदान गर्न सक्षम बनाउने जिम्मा तपाईं हाम्रो हो, यो कामको सुरुवात भएकोमा खुशी छु।’