स्कुलमै बालबालिकालाई खाना र खाजा
ललितपुर । काठमाडौ उपत्यकाका सरकारी बिद्यालयमा पढ्ने बिद्यार्थीका लागि पोषणयुक्त खाना र खाजा कार्यक्रम सुरु भएको छ । बालबिकासदेखी ५ कक्षासम्मका १४८ जना विद्यार्थीलाई बिहिबार उर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले खाना खुवाएर कार्यक्रम सुरु गरेकी हुन् । ललितपुरमा रहेको रुद्रायणी माध्यमिक बिद्यालयबाट खाजा र खाना दिने कार्यक्रम सुरु भएको हो । काठमाडौ उपत्यकाका ७ बिद्यालयमा गरी १२ सयलाइ खुवाउने कार्यक्रम रहेको आयोजक संस्था गोबल कपरेशन फर डेभलपमेन्ट सहयोग कार्यक्रमका अध्यक्ष मुक्ती मरासिनीले जानकारी दिए । १ देखि ५ सम्म पढ्ने १० वर्ष सम्मका बालबालिकालाई खाना र खाजा खुवाइने उनले बताए । 'पोषणयुक्त र विज्ञबाट प्रमाणित गरेको खानेकुरा मात्र खुवाउछौ,' मरासिनीले भने, 'त्यसका लागि हामी अनुगमन गर्छौं ।' चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभेसनको सहयोगमा थालिएको कार्यक्रममा संस्थाले प्रतिव्यक्ति ५० रुपैयाँ उपलब्ध गराउनेछ । नेपाल सरकारले १५ रुपैयाँ दिने सहमति छ । चाइना फाउन्डेसन फर प्रोभर्टी एलिभेसनका नेपाल प्रमुख जोउ चिर्‍छ्याङ पनि खाना खुवाउने कार्यक्रममा सहभागी थिए । पोषण र गुणस्तर खाना भएमा मात्र बालबालिकाको क्षमता बिकासमा सहयोग पुग्छ, विद्यार्थीको सिकाइ क्षमता बढाउने, हाजिरी संख्या बढाउने, स्कुल छोड्ने दर घटाउने र भर्ना दर बढाउने उद्देश्यले यो कार्यक्रम थालेका हौं, अब छिट्टै अन्य जिल्लामा पनि बिस्तार गर्छौं,' मरासिनीले भने । खाना र खाजा कार्यक्रम उद्घाटन गर्दै उर्जामन्त्री भुसालले स्वस्थ बालबालिकाले राष्ट्रको विकासमा योगदान दिन सक्ने बताइन । 'स्वस्थ बालबालिकाले मात्र गुणस्तर शिक्षा लिन सक्छन्, भुसालले भनिन्,' बालबालिकालाई व्यक्तिगत, सामाजिक र राष्ट्र विकासमा योगदान गर्न सक्षम बनाउने जिम्मा तपाईं हाम्रो हो, यो कामको सुरुवात भएकोमा खुशी छु ।'

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top